Passport

Passport/(राहदानी)

यस राजदूतावासबाट मिति २०७९ साउन ११ गते बाट विद्युतीय राहदानी (e-Passport) जारी गर्न शुरू गरिएको छ ।
यस राजदूतावासको कार्यक्षेत्र अन्तर्गत  फ्रान्स, पोर्चुगल,  मोनाको, तथा एण्डोरा पर्ने भएकोले यी मुलुकहरूमा रहनु भएका नेपालीहरूले यस राजदूतावासमा विद्युतीय राहदानीका लागि आवेदन दिन सक्नुहुनेछ ।
१.    विद्युतीय राहदानीको निमित्त आवेदन दिने तरिकाः
विद्युतीय राहदानीको निमित्त यस नियोगमा आवेदन दिँदा निम्न प्रक्रिया अपनाउनु पर्दछः
क) राहदानीका लागि सर्वप्रथम अनलाइनबाट फाराम भरी निर्धारित तरिका अनुसार मिति र समय बुक गर्नु पर्दछ । फाराम भर्नका लागि यहाँ क्लिक https://emrtds.nepalpassport.gov.np/ गर्नु होस र फाराम भर्ने सम्बन्धमा जानकारीका लगि यहाँ क्लिक (https://nepalpassport.gov.np/application-procedure/) गर्नुहोस ।
(Note: We urge/request you to have utmost patience while filling the form, as the system is in the initial stages. We apologize for any inconvenience caused during the form fill-up.)
ख) राहदानीका निमित्त आवेदन दिने पेज खुले पश्चात् दिएको निर्देशन अनुसार सबै सूचनाहरू भर्दै जानुहोस् । आवेदन फाराम भर्दा त्रुटि नहोस् भन्नका लागि होसियारीपूर्वक भर्नु पर्दछ । आवेदन फाराम भरे पश्चात् ‘book an appointment’ भन्ने निम्न अनुसारको पृष्ठमा पुग्नुहुनेछः
त्यसमा ‘Appointment Country’ मा ‘Other’ छनौट गर्नुहोस् र Appoint Location मा NE, Paris छनौट गर्नुहोस् ।
ग) स्थान छनौट गरे पछि तपाइले समय रोज्ने विभिन्न विकल्प पाउनु हुनेछ र आफूलाई अनुकूल हुने मिति र समय रोज्नुहोस् र Save the Appointment मा क्लिक गर्नुहोस् ।
घ) फाराम बुझाए पछि तपाइले बारकोड तथा QR कोड सहितको फारामको पूर्ण प्रति प्राप्त गर्नुहुने छ । उक्त फाराम प्रिन्ट गरी निर्धारित समयमा राजदूतावासमा आउनुहोस् ।
नोटः एक पटक फाराम बुझाए पछि तपाइँलाई कुनै त्रुटि भएको थाहा भयो भने राजदूतावासमा आउनु अघि सच्याउन सक्नु हुनेछ । साथै राजदूतावासमा फोटो खिच्ने समयमा पनि अनुरोध गरी सच्याउन सकिने छ ।  तर फोटो खिचेर फारामलाई अन्तिम स्वीकृति दिए पछि भने सच्याउन सकिने छैन । त्यस पछि त्रुटि भएको थाहा भयो भने सबै प्रक्रिया पुनः दोहोर्याउनु पर्ने हुन्छ ।
ङ) राजदूतावासमा तपाइका कागजात रुजू गरेपश्चात् राहदानीका लागि राजस्व दस्तुर बुझाउनु पर्दछ । बैङ्क मार्फत अगावै पनि रकम पठाउन सकिने छ तर एक पटक राजस्व रकम भुक्तानी गरे पछि फिर्ता गर्नका लागि लामो प्रक्रिया लाग्ने भएकोले के कति राजस्व आवश्यक पर्ने हो भनी सुनिश्चित गर्न राजस्व बुझाउनु अघि अनिवार्य रूपमा राजदूतावासमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
च) राजस्व बुझाए पछि निवेदकको तस्विर, औँठाछाप तथा दस्तखत लिइन्छ र फारामलाई अन्तिम स्वीकृत गरिन्छ ।
छ) नेपालमा राहदानी तयार भई राजदूतावासमा प्राप्त भएपश्चात् आवेदकलाई सोको जानकारी गराइने छ । जानकारी पाए पछि पुरानो राहदानी र सुरुमा भरेको बारकोड सहितको आवेदन फाराम, पुरानो सक्कल राहदानी तथा नागरिकता/नाबालिग परिचयपत्रको सक्कल प्रति सहित उपस्थित हुनु पर्ने छ । यदि राजदूतावासमा उपस्थित हुन अनुकूल नभएमा आवेदकको खर्चमा हुलाक मार्फत पनि राहदानी पठाउन सकिने छ ।
२.     राहदानीको निमित्त आवेदन दिँदा आवश्यक पर्ने कागजातः
राहदानीको निमित्त यस नियोगमा आवेदन दिँदा निम्न अनुसारका कागजात पेस गर्नु पर्दछः
क)  दरखास्त फाराम भरेपश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रिन्ट,
ख)  नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र फाेटाेकपी, नाबालिगको हकमा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको नाबालिग परिचयपत्रको सक्कल प्रति र फाेटाेकपी  र आमा-बाबु दुबैको नागरिकताको प्रमाणपत्रका प्रतिलिपिहरू,
ग) पुरानो राहदानी (पहिले बनाएको भएमा मात्र) को सक्कल प्रति र फाेटाेकपी,
घ) सम्बन्धित देशमा रहेको प्रमाण जनाउने कागजात (जस्तै, आवास अनुमति पत्र, entry stamp सहितको भिसाको प्रति आदि)
ङ) राहदानी  हराएको/चोरिएको (Lost/Stolen) हकमा, राहदानी हराएको सम्बन्धित देशको Police Report अनिवार्य रुपमा संलग्न गर्ने।
च) राहदानी दस्तुर (दस्तुर सम्बन्धी जानकारी तल बुँदा नं. ७ को टेबलमा उल्लेख गरिएको छ) ।
३. हुलाकमार्फत राहदानी प्राप्त गर्न गरिएको थप व्यवस्थाः
राहदानी सङ्कलन गर्न स्वयं उपस्थित हुन अनुकूल नभएमा हुलाकबाट राहदानी पठाउन अनुरोध गर्न सकिने छ । यसका लागि लाग्ने हुलाक खर्च आवेदक स्वयंले बेहोर्नु पर्दछ । नयाँ राहदानी जारी गर्दा पुरानो राहदानी रद्द गर्नु पर्ने भएकोले आवेदकले सक्कल राहदानी राजदूतावासमै बुझाउन पर्ने हुन्छ । तर नयाँ राहदानी तयार भई प्राप्त नभएसम्मका लागि पुरानो राहदानी चाहिने भएमा निम्नअनुसार गर्नु होलाः
  • सुरुमा आवेदन दिँदा पुरानो राहदानी आफै लैजाने ।
  • राजदूतावासले राहदानी विभागबाट राहदानी तयार भई आएको सूचना गरेपछि सक्कल राहदानी राजदूतावासमा पठाउने ।
  • सक्कल राहदानी प्राप्त भएपछि पुरानो राहदानी रद्द गरी नयाँ राहदानी सहित पुन आवेदकलाई फिर्ता पठाइनेछ । यसका लागि लाग्ने हुलाक खर्च आवेदक स्वयंले बेहोर्नु पर्ने भएकोले कुरियरलाई रकम भुक्तानी गरी राजदूतावासबाट राहदानी बुझ्न लगाउने व्यवस्था निवेदक स्वयंले मिलाउने।
४.     विदेशमै जन्मिएका नेपाली आमा-बाबुका सन्तानको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः
क)  अस्थायी नम्बर लिनु पर्नेः नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले जन्म दर्ताको प्रमाणपत्र (Birth  Registration Certificate) लाई मुख्य आधार मानी राजदूतावासले कामचलाउ रूपमा दर्ता किताब खडा  गरी अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भनेको महलमा उल्लेख गर्नु पर्दछ । यसका लागि निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्दछन्:
अ) आमा बाबु दुवै जनाको नागरिकताको सक्कल प्रति र प्रतिलिपि १ प्रति,
आ) आमा बाबु दुबैजानाको राहदानीको सक्कल प्रति र प्रतिलिपि १ प्रति,
इ) आमा बाबुको विवाह दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि एक, र
ई) नाबालकको जन्म दर्ताको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति,
उ)  नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटाहरू २ प्रति
माथि उल्लिखित कागजात सहित राजदूतावासमा आवेदन दिए पछि राजदूतावासले अस्थायी नम्बर उपलब्ध गराउनेछ । नाबालिगको राहदानीको दरखास्त फाराममा नागरिकता नम्बर लेख्ने स्थानमा यस राजदूतावासले उपलब्ध गराएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ ।
ख) याद गर्नुहोस्
• यसरी एक पटक नाबालिगका नाममा राहदानी जारी गरे पश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालिग परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाए पछि अनिवार्य रूपमा नेपाल गई सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालिग परिचयपत्र बनाउनु होला ।
५. पाँच (५) वर्ष मुनिका बालबालिकाको लागि आवेदन दिने सम्बन्धी विशेष व्यवस्थाः
पाँच (५) वर्ष मुनिका बालबालिकाको लागि आवेदन दिँदा जैविक तथ्याङ्क (Biometric Data) अनिवार्य नभएकोले आवेदन दिँदा आवेदक स्वयं उपस्थित हुन अनिवार्य हुँदैन । आवेदक उपस्थित नभएको अवस्थामा माथि दिएको प्रक्रिया अनुसार फाराम भरी आवेदक बच्चाको तस्विर मात्र पठाउनु पर्दछ । राजदूतावासमा उपस्थित भइ तस्विर खिच्नका लागि शान्तसँग बस्न सक्ने भएमा भने तस्विर आवश्यक पर्दैन ।
६. अन्य आवश्यक कागजातहरू (अनलाईन आवेदन दिँदा पेश गर्ने पर्ने)
क)    नागरिकतामा रहेको जन्म मिति र शैक्षिक योग्यतामा रहेको जन्म मिति फरक परेमा शैक्षिक योग्यताको प्रमाणपत्रमा रहेको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने अवस्थामा एसएलसी वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
ख)    विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्रका प्रतिलिपिहरू,  तर विदेशी नागरिकसँग विवाह गरी विदेशको नागरिकता नलिएको महिलाको हकमा निजको पुरानो राहदानीमा उल्लेख भएको थर वा नागरिकतामा उल्लिखित थर अनुसार राहदानी प्रदान गरिन्छ।
ग)     पारपाचुके गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्रको प्रतिलिपि ।
७. राहदानीका लागि लाग्ने राजस्व दस्तुरः
राहदानीका लागि निम्न अनुसारको राजस्व तिर्नु पर्दछ ।

 

सि. नं. सेवा शूल्क
१. नयाँ राहदानी बनाउन/ नविकरण गर्न 10 वर्ष माथिका हकमा
120 युरो – 34 पृष्ठको लागि
170 युरो – 66 पृष्ठको लागि


10 वर्ष मुनिका नाबालकको हकमा
60  युरो – 34 पृष्ठको लागि
110 युरो – 66 पृष्ठको लागि

२. हराएको/बिग्रिएको राहदानी बनाउन 10 वर्ष माथिका हकमा
240 युरो – 34 पृष्ठको लागि
290 युरो – 66 पृष्ठको लागि


10 वर्ष मुनिका नाबालकको हकमा
120 युरो – 34 पृष्ठको लागि
170 युरो – 66 पृष्ठको लागि

८. विद्युतीय राहदानी सम्बन्धमा बारम्बार सोधिने प्रश्नहरूः
  • विद्युतीय राहदानी भनेको के हो?
विद्युतीय राहदानी हालको राहदानीको परिमार्जित रूप हो जसमा हालको राहदानीमा भएका कुराहरूको अतिरिक्त विद्युतीय चिप खामिएको हुन्छ । उक्त चिपमा औँठाछाप, तस्विर लगायतका आवेदकका व्यक्तिगत विवरणहरू राखिएका हुन्छन् । यी विवरणहरू कसैले थपघट वा फेर बदल गर्न नसक्ने गरी सुरक्षित राखिएको हुन्छ । विदेश भ्रमण गर्दा यसमा भएका विवरण सहज रूपमा कम्प्युटरमा लगि हेर्न, पढ्न र त्रुटि रहित रूपमा तुलना गर्न सकिने भएकोले व्यक्तिको सहि पहिचान हुन्छ जसका  कारण यात्रा सहज हुन्छ ।  हालसम्म विभिन्न मुलुकमा जारी भएका राहदानीमा विद्युतीय राहदानी अत्याधुनिक मध्येमा पर्दछ । ICAO PKD मार्फत सूचनाहरू रुजू हुने हुँदा विभिन्न मुलुकका अध्यागमन विन्दुहरूमा निकै सहज र छिटो हुन्छ । अध्यागमन विन्दुहरूमा विद्युतीय ढोका भएमा स्वचालित विधि अवलम्बन गरिने भएकोले त्यस्तो ढोका प्रयोग गर्न विद्युतीय राहदानी अनिवार्य हुन्छ ।
  • म सँग यन्त्र वाचक राहदानी छ, के विद्युतीय राहदानी बनाउनु पर्दछ?
पर्दैन ।
  • विद्युतीय राहदानी कहिले बनाउने?
हालको यन्त्र वाचक राहदानी (MRP) को म्याद १ वर्ष भन्दा कम भएमा विद्युतीय राहदानीका लागि आवेदन दिन सकिने छ ।
  •  विद्युतीय राहदानीका लागि आवेदन दिँदा तस्विर (Photo) आवश्यक पर्छ?
पाँच वर्ष पुगेका व्यक्तिको हकमा राहदानी आवेदन दिँदा स्वयं उपस्थित भइ तस्विर खिचिने भएकोले थप तस्विर आवश्यक पर्दैन । पाँच वर्ष नपुगेका बालबालिकाको हकमा राजदूतावासमा उपस्थित नभएमा वा उपस्थित भएतापनि तस्विर खिच्नका लागि शान्तसँग बस्न नसक्ने भएमा भने तस्विर आवश्यक पर्दछ ।
  • राहदानी हरायो, के गर्ने?
राहदानी हराएमा नयाँ राहदानी लिनु पर्दछ ।  यसका लागि नयाँ राहदानी बनाउँदा अपनाउन पर्ने सम्पूर्ण प्रक्रिया अपनाउनु पर्दछ र राहदानी हराएको सम्बन्धित देशको Police Report अनिवार्य रुपमा संलग्न गर्नु पर्दछ। स्मरण रहोस्, पुरानो राहदानी हराएमा वा  च्यातिएमा वा केरमेट भइ प्रयोग गर्न नमिल्ने भएमा सो को सट्टा नयाँ राहदानी लिँदा माथिको दस्तुरको दोबर दस्तुर लाग्नेछ ।
  •  राहदानी बनाउन कति समय लाग्छ?
राहदानी बनाउनका लागि सामान्यतः आवेदन दिएको १ देखी २ महिना सम्म लाग्दछ ।
  • अस्थायी राहदानी भनेको के हो ?
राजदूतावासमा विद्युतीय राहदानीका लागि आवेदन दिँदाका बखत राहदानी जरुरी परेको र उक्त राहदानी बनेर आउने समयसम्म पर्खन नसक्ने भएमा अस्थायी राहदानीका लागि आवेदन दिन सकिने छ । अस्थायी राहदानी हस्त लिखित भएकोले सामान्यतः विदेश भ्रमण गर्न मिल्दैन । विद्युतीय राहदानीका लागि आवेदन दिए पछि मात्र अस्थायी राहदानीका लागि आवेदन दिन सकिने छ ।
  • विदेशमा रहेका समयमा जन्मिएका सन्तानको राहदानी कसरी बनाउने?
राहदानी बनाउनका लागि माथि बुँदा २ मा उल्लेख भए अनुसार गर्नु होला । यदि बच्चासहित तत्काल नेपाल फर्कनु पर्ने भएमा यात्रा अनुमति पत्रका लागि राजदूतावासमा आवेदन दिन सकिने छ । विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका बच्चाको हकमा राहदानीका लागि बाबु नागरिक रहेको मुलुकको सम्बन्धित निकायमा सम्पर्क राख्नु पर्दछ ।
  • हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने?
हराएको राहदानी भेटिएमा तुरुन्तै राजदूतावासमा सम्पर्क गरी राहदानी रद्द गराउनु पर्दछ । हराएको राहदानी भेटिए तापनि हराएको जानकारी Interpol मार्फत विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन्छ ।
  • राहदानीमा भएको विवरणमा त्रुटि देखिएमा के गर्ने ?
राहदानी  छपाइ हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी लिनु पर्दछ । यदि विभाग/कार्यालयको गल्तीका कारण फाराममा भएको विवरण भन्दा राहदानीमा छापिएको विवरण फरक परेमा एक वर्षभित्र र राहदानी प्रयोग नभएको भएमा पुनः दस्तुर लाग्दैन । अन्यथा नियमानुसार दस्तुर लाग्ने हुन्छ । यस प्रकारको त्रुटि सच्याउन लागि सम्बन्धित कार्यालय वा विभागमा आवेदन दिन सकिन्छ ।
  • के राहदानी नवीकरण गर्दा पुरानो सङ्ख्या (Number) कै राहदानी बन्दछ ? मेरो राहदानीमा भिसा छ, नवीकरण गर्दा के हुन्छ ?
बन्दैन । पुरानो राहदानी र नयाँ राहदानीको नम्बर फरक हुन्छ।  नयाँ राहदानीमा पुरानो राहदानी सङ्ख्या समेत उल्लेख गरिने भएकोले सामान्यतः पुरानो राहदानीमा भएको भिसा मान्य हुन्छ । यो विषय मुलुक पिच्छेको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो वा जुन मुलुकको भिसा लिएको हो, सोही मुलुकको आधिकारिक निकायसँग बुझ्नु राम्रो हुन्छ ।
 राहदानीको लागि आवेदन दिएकोमा राहदानी प्राप्त नुहुँदै नेपाल फर्कनु पर्‍यो, के गर्ने ?
राजदूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा राजदूतावासको सिफारिस पत्र, सक्कल राहदानी/नाबालिग परिचयपत्र, सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयद्वारा निर्धारित ढाँचामा जारी गरिएको नागरिकता प्रमाणीकरण (पहिलो पटक नेपालबाट एम आर पी लिनेले मात्र), पुरानो राहदानी/यात्रा अनुमतिपत्र र रसिद लिई राहदानी विभागमा सम्पर्क राख्न सकिन्छ । विभागबाट कागजात रुजू गरी राहदानी जारी गरिन्छ ।
 राहदानी जरुरी परेमा आफन्त मार्फत नेपालबाट राहदानी बनाउन सकिन्छ?
सकिँदैन ।
 एमआरपीको म्याद बाँकी बहाल रहेको अवस्थामा विद्युतीय राहदानी बनाउन सकिन्छ?
सामान्यतः ६ महिना भन्दा बढी अवधि भएको राहदानी आफूसँग भएमा नयाँ राहदानी बनाउन सकिँदैन । तर राहदानी हराएमा वा च्यातिई, जलि, कुनै तरल पदार्थ पोखिई वा अन्य कारणले राहदानीमा क्षति पुगेमा वा पाना भरिएमा भने नयाँ राहदानी बनाउन सकिन्छ । यदी राहदानीको अवधि छ (६) महिना भन्दा बढी छ तर लामो समयका लागि भिसा आवेदन दिनु पर्नाको कारणले वा अन्य कुनै उचित कारणले अहिले नै राहदानी नवीकरण गर्नु परेमा सोही कारण खोली राजदूतावासलाई अनुरोध गर्न सकिने छ र यस सम्बन्धमा राजदूतावासले आवश्यक परामर्श दिने छ ।
 विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो? के राजदूतावासबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ?
राहदानीका लागि राजदूतावासमा आवेदन दिदा राष्ट्रिय परिचयपत्र अनिवार्य छैन । याद गर्नुहोसः- यदि तपाँइसँग राष्ट्रिय परिचय पत्र छ भने पनि अर्को व्यवस्था नभए सम्मका लागि हाललाई फाराम भर्दा यसको उल्लेख नगर्नु होला ।
राजदूतावासबाट राष्ट्रिय परिचय पत्र बनाउन सकिँदैन । त्यसैले यदि नेपाल जानु भयो भने राष्ट्रिय परिचयपत्र बनाउनु हुन सुझाव दिइन्छ । यदी नेपाल गइएन र राष्ट्रिय परिचय पत्र छैन भने पनि एक पटकका लागि नियमानुसारको अवधि (२ वा ५ वा १० वर्ष) रहने गरी विद्युतीय राहदानी जारी हुन्छ र उक्त अवधि भित्र नेपाल गई राष्ट्रिय परिचय पत्र बनाउन सकिने छ ।
 विद्युतीय राहदानीका लागि थप जानकारी काहाँ पाउन सकिन्छ?
विद्युतीय राहदानी सम्बन्धी थप जानकारीका लागि राहदानी विभागको वेव पेजमा हेर्नु होला (यहाँ क्लिक गर्नुहोस्। (https://nepalpassport.gov.np/) गर्नु होस) ।
साथै राहदानी सम्बन्धी  केही बुझ्नु परेमा निम्न  ठेगानामा  सम्पर्क गर्नु हुन अनुरोध छ ।
Email:nepalembassyparis@mofa.gov.np
Telephone:+33(0) 1 7713 8271